असोज २१ , काठमाडौं । भारतको दिल्ली सरकारले स्वास्थ्य सेवामा कार्यरत ६ हजार ६ सय ९० आशा कार्यकर्ताको मासिक प्रोत्साहन रकम दोब्बर बनाएको छ। अब उनीहरूले मासिक ३ हजार भारतीय रुपैयाँको सट्टा ६ हजार रुपैयाँ पाउनेछन्। दिल्ली सरकारले आशा कार्यकर्ताले समुदाय र सार्वजनिक स्वास्थ्य प्रणालीबीच महत्वपूर्ण कडीका रूपमा काम गर्दै आएको भन्दै यो निर्णय गरेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार ‘मिशन अनमोल’ कार्यक्रम पनि विस्तार गरिएको छ। अब नवजात शिशुमा जन्मजात, आनुवंशिक तथा मेटाबोलिक गरी ६३ प्रकारका स्वास्थ्य समस्याको निःशुल्क परीक्षण गरिनेछ। जन्मिएको २४ देखि ७२ घण्टाभित्र परीक्षण गर्ने व्यवस्था गरिएको छ।
दिल्ली सरकारका अनुसार मार्च २०२६ देखि सञ्चालनमा आएको यस कार्यक्रमअन्तर्गत हालसम्म ७५ हजारभन्दा बढी नवजात शिशुको परीक्षण भइसकेको छ भने प्रारम्भिक पहिचानपछि ७ सयभन्दा बढी बालबालिकाले समयमै उपचार पाएका छन्। आगामी दिनमा वार्षिक १ लाख ५० हजारदेखि २ लाख ५० हजारसम्म नवजातलाई परीक्षणको दायरामा ल्याउने लक्ष्य सरकारको छ।
यसैगरी, दिल्ली सरकारले जीबी पन्त अस्पतालमा स्टेट अर्गान एन्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाइजेसनको नयाँ भवनको उद्घाटन गरेको छ। निजी नर्सिङ होमको दर्ता तथा नवीकरणलाई अनलाइन बनाउन नर्सिङ होम म्यानेजमेन्ट सिस्टम पोर्टल पनि सुरु गरिएको छ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आशा कार्यकर्ताको योगदानलाई सम्मान गर्दै उनीहरूको प्रोत्साहन रकम वृद्धि गरिएको बताएकी छन्। स्वास्थ्य मन्त्री पंकज कुमार सिंहका अनुसार आशा कार्यकर्ताको प्रोत्साहन बढाउने विषय लामो समयदेखि पेन्डिङ थियो र कोभिड महामारीका बेला पनि उनीहरूले महत्वपूर्ण स्वास्थ्य सेवा दिएका थिए।