असोज १९ , काठमाडौं । नेपाल नर्सिङ परिषद् र नेपाल फार्मेसी परिषद्को रिक्त सदस्य पदमा सरकारले आठ जना नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नर्सिङ परिषद्मा चार र फार्मेसी परिषद्मा चार जना सदस्य नियुक्त गरेको हो।
नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन्। त्यस्तै, नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्।
नवनियुक्त सबै सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई शपथ गराएकी हुन्।
नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्तिसँगै नर्सिङ तथा मिडवाइफरी क्षेत्रको नियमन, व्यावसायिक मर्यादा र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, फार्मेसी परिषद्का नयाँ सदस्यहरूले फार्मेसी क्षेत्रको नियमन तथा सुरक्षित र गुणस्तरीय औषधि सेवाको सुनिश्चिततामा योगदान पुर्याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
नवनियुक्त सदस्यहरूले शपथ ग्रहणपछि आ–आफ्नो क्षेत्रको विकास र सुदृढीकरणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।