असोज २० , काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको भूमिका र जिम्मेवारी स्पष्ट पारेको छ। असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमार्फत भण्डारीको जिम्मेवारी स्पष्ट गरिएको हो।
एमालेको निर्णयअनुसार भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा रहनेछिन्। उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी भण्डारीले पार्टी अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही र समयानुकूल निर्णय लिन योगदान पुर्याउने जिम्मेवारी पाएकी छन्। वरिष्ठ नेताका रूपमा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा पार्टीका विभिन्न कमिटीले तोकेका कार्य गर्ने जिम्मेवारीसमेत उनलाई दिइएको छ।
एमालेले भण्डारीलाई दिइएको भूमिकासम्बन्धी निर्णय आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गर्ने जनाएको छ। उनको नियुक्ति पार्टी विधानमा रहेको बाधा–अड्काउ फुकाउने व्यवस्था तथा दुई महाधिवेशनबीचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर निर्णय गर्न सक्ने प्रावधानका आधारमा गरिएको पार्टीले जनाएको छ।
यस निर्णयसँगै एमालेभित्र वरिष्ठ नेताका रूपमा भण्डारीको औपचारिक भूमिका, वरीयता र पार्टीका प्रमुख संरचनामा सहभागिताको व्यवस्था थप स्पष्ट भएको छ।