असोज २२ , काठमाडौं । भोटेकोशी बाढीले घरबार र आफन्त गुमाएका परिवारको पीडामा मलम लगाउन दुई विदेशी महिला नेपाल आइपुगेका छन्। मलेसियाकी संगीत शिक्षिका वाङ सिउ एनगान र चेक गणतन्त्रकी क्याटरिना स्भेइनोहोभा कुनै सरकारी अभियान वा ठूलो सहायता संस्थाको प्रतिनिधिका रूपमा नभई आफ्नै पहलमा नेपाल आएर बाढी प्रभावित समुदायलाई सहयोग गरेका हुन्।
मलेसियाकी वाङ सिउ एनगानले नुवाकोटका बाढी प्रभावितका लागि कम्बल, गम्छा, मोजा, खाने तेल, सरसफाइका सामग्री र औषधिजन्य सामग्री ल्याएकी थिइन्। नेपाल आएपछि उनले थप आवश्यक सामग्री खरिद गरी नुवाकोट पुगेर प्रभावित परिवारलाई वितरण गरिन्।
राहत सामग्री लिन पुगेका बाढीपीडितले आफूलाई आवश्यक सामान आफैं रोजेर लैजान पाएको दृश्यले वाङ भावुक बनेकी थिइन्। बाढीका कारण घर गुमाएर अस्थायी आवास वा भाडाको कोठामा बसिरहेका परिवारलाई आवश्यकताअनुसार सामग्री छनोट गर्न पाउँदा राहतसँगै आत्मसम्मानको अनुभूति भएको उनको भनाइ थियो।
नेपालमा बाढी आएको खबर सुनेपछि उनले आफ्ना साथी तथा सांगीतिक समूहका सहयोगीमार्फत राहत सामग्री संकलन गरेकी थिइन्। सुरुमा करिब १ सय परिवारलाई सहयोग गर्ने लक्ष्य राखे पनि सहयोग जुट्दै गएपछि करिब ३ सय परिवारलाई राहत पुर्याउन सकेकी थिइन्।
वाङले नुवाकोटका बाढी प्रभावित परिवारलाई मात्र नभई काठमाडौंस्थित यल्लो गुम्बाका ६५ जना अनाथ बालबालिकालाई समेत ट्र्याकसुटलगायतका सामग्री वितरण गरेकी छन्। उनी दृष्टिविहीनका लागि ‘जोयफुल ब्रेल म्युजिक नोटेशन’ प्रणाली विकास गरेकी संगीत शिक्षिका हुन्।
त्यस्तै, चेक गणतन्त्रकी ५१ वर्षीया क्याटरिना स्भेइनोहोभाले भने राहतको फरक माध्यम रोजिन्। उनले आफ्नी जेठी छोरीको सहयोगमा कपडाका ५६ वटा ‘पुन्टु’ नामका पुतली बनाएर रसुवाका बाढी प्रभावित बालबालिकासम्म पुर्याइन्।
उनले ‘पुन्टुलाई नेपाल पठाऔँ’ अभियानमार्फत सहयोग संकलन गरेकी थिइन्। प्रत्येक पुतलीका लागि सहयोगकर्ताले रकम दिएका थिए र अभियानबाट ३३ हजार ४ सय चेक क्राउन अर्थात् करिब १ हजार ५ सय अमेरिकी डलर संकलन भएको थियो।
क्याटरिना आफ्ना ६४ वर्षीय श्रीमान् मार्टिनसँगै बाढीले क्षतिग्रस्त बाटो हुँदै रसुवाका दुर्गम गाउँसम्म पुगेकी थिइन्। उनले आमाबाबु वा आफन्त गुमाएका बालबालिकालाई पुतली वितरण गरिन्।
तर उनको यात्राको सबैभन्दा भावुक क्षण भने बाढीमा परिवारका ६ जना सदस्य गुमाएकी ७० वर्षीया महिलालाई पुतली दिँदाको थियो। पुतली पाएपछि ती वृद्धाको आँखाबाट आँसु झरेपछि क्याटरिना पनि भावुक बनेकी थिइन्।
क्याटरिनाका अनुसार विपद्को पीडा केवल भौतिक क्षतिमा सीमित हुँदैन। घर, सम्पत्ति र आफन्त गुमाएका मानिसलाई सानो सहयोग र मानवीय साथले पनि केही क्षणका लागि आशा र खुसी दिन सक्छ।
चेक गणतन्त्रमा सन् २००२ मा आएको ठूलो बाढीको अनुभव सुनाउँदै उनले नेपालले पनि नदीको नियमित अनुगमन, प्रभावकारी कानुनी तथा नीतिगत व्यवस्था र विपद् पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएकी छन्। उनका अनुसार समयमै गरिएको तयारीले भविष्यमा हुने मानवीय क्षति कम गर्न सकिन्छ।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा यी दुई महिलाको सहयोग ठूलो राहतको विकल्प त होइन, तर विपद्को पीडामा मानवीय संवेदनाको उदाहरण बनेको छ। उनीहरूले दिएको कम्बल, खाद्यान्न वा पुतलीभन्दा ठूलो सन्देश भने दुःखमा परेकालाई सहयोग गर्न ठूलो हैसियत होइन, सहयोग गर्ने मन आवश्यक हुन्छ भन्ने हो।