असोज २२ , काठमाडौं । भारतमा प्रतिष्ठित इन्जिनियरिङ शिक्षातर्फ महिलाको सहभागिता बढ्दै गएको देखिएको छ। सन् २०२६ को जेईई एडभान्स परीक्षामा १० हजार १०७ महिला उम्मेदवार उत्तीर्ण भएका छन्। यो पछिल्लो ६ वर्षयताकै सबैभन्दा धेरै महिला उत्तीर्ण भएको संख्या हो।
जेईई एडभान्स २०२६ मा ४३ हजार ११२ महिलाले दर्ता गरेका थिए। तीमध्ये ४० हजार ५६२ जना दुवै पेपरमा सहभागी भएका थिए भने १० हजार १०७ जना उत्तीर्ण भएका हुन्। महिलाको उत्तीर्ण दर २३.४ प्रतिशत पुगेको छ, जुन सन् २०२५ को २१.७ प्रतिशतभन्दा बढी हो।
महिलाको सहभागिता बढ्नुमा भारतीय प्रविधि संस्थान (आईआईटी)मा लागू गरिएको सुपरन्यूमरेरी सिट स्किम ९एसएसएस० को पनि भूमिका रहेको अध्ययनले देखाएको छ। सन् २०१८ देखि लागू यो व्यवस्थाले महिला विद्यार्थीको प्रतिनिधित्व बढाउन अतिरिक्त सिट सिर्जना गर्छ। यसबाट पुरुषका लागि उपलब्ध नियमित सिट घट्दैनन्।
२०२६ मा आईआईटीका लागि कुल १८ हजार ८६१ सिट बाँडफाँट हुँदा महिलाले ३ हजार ८१४ सिट प्राप्त गरेका छन्। यो कुल सिटको २०.२२ प्रतिशत हो। तीमध्ये ३ हजार ७७७ सिट महिलाका लागि छुट्याइएका अतिरिक्त सिटबाट र ३७ सिट लैंगिक रूपमा खुला प्रतिस्पर्धाबाट प्राप्त भएका हुन्।
एसएसएस लागू हुनुअघि आईआईटीको बीटेक कार्यक्रममा महिलाको सहभागिता करिब ७ देखि ९ प्रतिशत मात्रै थियो। तर यो व्यवस्था लागू भएपछि महिला विद्यार्थीको हिस्सा सन् २०२० सम्म करिब २० प्रतिशत पुगेको र त्यसयता पनि त्यही आसपास कायम रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
अध्ययनअनुसार महिला विद्यार्थीको संख्या बढ्नुका साथै उनीहरूको विषय छनोटमा समेत परिवर्तन आएको छ। विशेषगरी कम्प्युटर साइन्स, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङजस्ता परम्परागत रूपमा पुरुषको वर्चस्व रहेका विषयमा उच्च स्थान हासिल गर्ने महिला विद्यार्थीको आकर्षण बढेको पाइएको छ।
यो व्यवस्थाले सामाजिक रूपमा पछाडि पारिएका समुदायका महिलालाई पनि फाइदा पुर्याएको अध्ययनको निष्कर्ष छ। आरक्षित समूहभित्र समेत महिलाका लागि अतिरिक्त सिटको व्यवस्था भएकाले आईआईटीमा अनुसूचित जाति तथा अनुसूचित जनजाति समुदायका महिलाको प्रतिनिधित्व बढेको पाइएको छ।
विशेषज्ञहरूका अनुसार आईआईटीजस्ता प्रतिष्ठित संस्थामा महिलाको उपस्थिति बढ्दा इन्जिनियरिङलाई पुरुषप्रधान क्षेत्रका रूपमा हेर्ने धारणा परिवर्तन गर्न र थप छात्रालाई विज्ञान, प्रविधि तथा इन्जिनियरिङ शिक्षातर्फ आकर्षित गर्न सहयोग पुग्न सक्छ।
यद्यपि जेईई एडभान्समा महिला उत्तीर्णको संख्या बढे पनि कुल उत्तीर्णमध्ये महिलाको हिस्सा १७.८ प्रतिशत मात्रै छ। यसले भारतको उच्चस्तरीय इन्जिनियरिङ शिक्षामा लैंगिक अन्तर अझै पूर्ण रूपमा हटिनसकेको देखाउँछ।