असोज २१ , काठमाडौं । भारतको पश्चिम बंगाल सरकारले उच्च शिक्षा अध्ययन गरिरहेका अविवाहित महिलालाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने नयाँ योजना स्वीकृत गरेको छ। राज्य मन्त्रिपरिषद्को निर्णयअनुसार ‘भगिनी निवेदिता योजना’मार्फत दिइने यो सहयोग महिलालाई उच्च शिक्षा निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो।
योजनाअन्तर्गत लाभग्राहीले ५० हजार रुपैयाँ एकैपटक नभई तीन वर्षमा किस्ताबन्दी रूपमा प्राप्त गर्नेछन्। पहिलो र दोस्रो वर्ष १७–१७ हजार तथा तेस्रो वर्ष १६ हजार रुपैयाँ उपलब्ध गराइनेछ। योजना २०२७ जनवरीदेखि लागू हुने बताइएको छ।
सरकारका अनुसार आर्थिक समस्याका कारण महिलाले उच्च शिक्षा बीचमै छाड्नुपर्ने अवस्था कम गर्नु योजनाको मुख्य उद्देश्य हो। यद्यपि, योजनाको अन्तिम योग्यता, आवेदन प्रक्रिया, आवश्यक कागजात र अन्य विस्तृत मापदण्ड भने सरकारले छुट्टै सार्वजनिक गर्नेछ।
यसैबीच, पश्चिम बंगाल मन्त्रिपरिषद्ले विभिन्न विभागमा १४ हजार ४५४ सरकारी पदमा भर्ती प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। यी पद वन, अग्नि सेवा, कारागार, गृह तथा पहाडी मामिलालगायत विभागमा रहनेछन्। भर्ती प्रक्रिया आगामी ६ देखि ८ महिनाभित्र पूरा गर्ने सरकारको लक्ष्य छ।
महिला शिक्षा र रोजगारीमा पहुँच विस्तार गर्ने यी निर्णयलाई राज्यमा महिलाको आर्थिक तथा शैक्षिक सशक्तीकरणसँग जोडेर हेरिएको छ।