असोज २१ , काठमाडौं । भारतको पश्चिम बंगाल सरकारले उच्च शिक्षा अध्ययन गरिरहेका अविवाहित महिलालाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग दिने नयाँ योजना स्वीकृत गरेको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीका अनुसार ‘भगिनी निवेदिता योजना’ आगामी जनवरी २०२७ देखि राज्यभर लागू हुनेछ।
योजनाअन्तर्गत लाभग्राहीले ५० हजार रुपैयाँ एकैपटक पाउने छैनन्। तीन वर्षमा किस्ताबन्दी रूपमा रकम उपलब्ध गराइनेछ। पहिलो वर्ष १७ हजार, दोस्रो वर्ष १७ हजार र तेस्रो वर्ष १६ हजार रुपैयाँ दिइनेछ।
आर्थिक अभावका कारण महिलाले उच्च शिक्षा बीचमै छाड्नुपर्ने अवस्था कम गर्नु योजनाको मुख्य उद्देश्य रहेको सरकारको भनाइ छ। महिलालाई उच्च शिक्षामा निरन्तरता दिन र उनीहरूलाई थप आत्मनिर्भर बनाउन आर्थिक सहयोगले भूमिका खेल्ने अपेक्षा गरिएको छ।
योजनाको अन्तिम योग्यता, आवेदन प्रक्रिया, आवश्यक कागजात र आवेदन समयसीमा भने सरकारले छुट्टै सार्वजनिक गर्ने जनाएको छ। त्यसैले हाललाई सबै महिला विद्यार्थी स्वतः योजनाका लागि योग्य हुने भन्ने स्पष्ट भइसकेको छैन।
यसैबीच पश्चिम बंगाल सरकारले १४ हजार ४५४ सरकारी पदमा भर्ती गर्ने निर्णय पनि गरेको छ। भर्ती प्रक्रिया आगामी ६ देखि ८ महिनाभित्र पूरा गर्ने सरकारको लक्ष्य छ। वन, अग्नि सेवा, कारागार, गृह तथा पहाडी मामिलालगायत विभागमा नयाँ नियुक्ति गरिने बताइएको छ।