असोज २, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्तालाई रकम फिर्ता गरिएको हो।
रकम फिर्ता पाउनेमा शिवशिखर सहकारीका ५७, कान्तिपुरका ५२, ओरियन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखी सहकारीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ता रहेका छन्।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको छ। अब बचतको रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिने समितिको भनाइ छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने प्रक्रिया निरन्तर चलिरहेको समितिले जनाएको छ।