असोज ६, काठमाडौं । कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले आफूहरूमाथि दुई युवाले दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनापछि प्रहरीले उल्टै आफ्नो पहिरनमाथि प्रश्न उठाएको बताएका छन्। प्रिन्सीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै घटनाबारे आफ्नो अनुभव साझा गरेकी हुन्।
प्रिन्सीका अनुसार दुई युवाले आफूहरूमाथि दुर्व्यवहार गरेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली आएर ती युवालाई नियन्त्रणमा लिएपछि घटनाबारे आफूहरूसँग सोधपुछ गरिएको उनले बताएकी छन्।
तर, सोधपुछका क्रममा प्रहरीले ‘यस्तो छोटो कपडा किन लगाएकोरु’ भन्दै आफूहरूलाई नै प्रश्न गरेको उनको दाबी छ। घटनामा दुर्व्यवहार गर्ने व्यक्तिको व्यवहारको सट्टा पीडितको पहिरनलाई कारणका रूपमा प्रस्तुत गरिएको भन्दै उनले असन्तुष्टि जनाएकी छन्।
घटना सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङसँग समेत कुराकानी भएको र त्यसपछि घटनालाई गौशाला प्रहरी वृत्तमा लगेर कारबाही प्रक्रिया अघि बढाइएको प्रिन्सीले बताएकी छन्। घटनामा संलग्न भनिएका व्यक्तिमाथि के कारबाही हुन्छ भन्ने विषय क्रमशः सार्वजनिक गर्दै जाने उनले बताएकी छन्।
प्रिन्सीले दुर्व्यवहारको जिम्मेवारी पीडितको पहिरन वा व्यवहारमाथि थोपर्न नहुने बताउँदै यस्ता घटनामा पीडितलाई नै दोष दिने प्रवृत्तिविरुद्ध आवाज उठाउन आग्रह गरेकी छन्। उनले अन्य व्यक्तिले पनि यस्तै घटना भोग्नुपरे प्रहरीको सहयोग लिन र आवश्यक परे सामाजिक सञ्जालमार्फत आफ्नो कुरा सार्वजनिक गर्न आग्रह गरेकी छन्।
घटनाबारे प्रहरीले गरेको भनिएको टिप्पणी र त्यसपछिको कारबाहीका सम्बन्धमा सम्बन्धित प्रहरी निकायको विस्तृत आधिकारिक धारणा भने समाचारमा उल्लेख गरिएको छैन।