फागुन, २५ काठमाडौ । प्रदेश २ सरकारले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सीमान्तकृत छात्रा पहिचान गरी १ हजार ५ सय २० जना त्यस्ता छात्रालाई साइकल वितरण गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा देवले संयुक्त रुपमा साइकल वितरण गरेका थिए । प्रदेश सरकारको महत्त्वाकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’लाई सघाउ पुग्ने गरी प्रदेश सरकारले सीमान्तकृत छात्रालाई साइकल वितरण गरेको हो ।
कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य रहेकोे ‘बेटी पढाउ बेटी बचाउ’ अभियानका संयोजक प्रियंका यादवले जानकारी दिइन् । प्रदेश २ मा कक्षा ८ मा कुल २७ हजार छात्रा अध्ययनरत छन् ।
प्रदेश सरकारका अनुसार १७ हजार छात्रालाई चालु आर्थिक वर्षमा साइकल वितरण गरिने लक्ष्य छ । यसैबीच मुख्यमन्त्री लालबाबु राउतले एसिड फाल्ने व्यक्तिलाई सार्वजनिक स्थलमा झुन्ड्याउनु पर्ने धारणा राखेका छन् ।
नारी दिवसको अवसरमा जनकपुरधामकी एसिड पीडित आरती साहलाई दोसल्ला ओढाएर सम्मान गर्दै मुख्यमन्त्री राउतले एसिड प्रहार गरी निर्ममता देखाउने अपराधी व्यक्तिलाई सार्वजनिक स्थलमै झुन्ड्याउनु पर्ने बताए ।
मुख्यमन्त्री राउतले संविधान संशोधन गरेर भए पनि त्यस्ता अपराधीलाई सार्वजनिक स्थलमै झुण्ड्याउने व्यवस्था संविधानमा गर्नुपर्ने बताए ।
उनले संघीय सरकारको नीतिका कारण प्रदेश सरकारसँग आफ्नो प्रशासन नभएकाले अपराध न्यूनीकरण गर्न नसकेको बताए ।