जेठ १, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या घटेको छ।
स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सवा १० बजे सूचना प्रकाशित गर्दै त्रुटिवश संक्रमितको संख्या बढेको भन्दै घटाएर २४५ मा झारेको हो। मन्त्रालयद्वारा केही घन्टाअघि बिहीबार बिहान नै प्रकाशित सूचनामा थप ७ जनामा कोरोना संक्रमण देखिएको भन्दै कुल संक्रमितको संख्या २५० पुर्याएको थियो।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा अद्यावधिक विवरण ९अपेडट० मा पहिले नै पुष्टि भइसकेका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएकोले कुल संक्रमितको संख्या २५० पुगेको स्पष्ट पारेको छ। त्यसैले ती ५ संक्रमितको गणना भइसकेकोले मन्त्रालय पुनः सूचना जारी गर्दै घटाएर कुल संक्रमितको संख्या २४५ मा झारेको हो।
अब नेपालभर कुल संक्रमितको संख्या २४५ रहेको र तीमध्ये ३५ जना निको भइसकेका छन्। बाँकीको विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको ।