असोज १५ काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोबारे आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेकी छन्। उनले अडियोमा कुराकानी गरेका व्यक्तिहरूसँग आफ्नो व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।
संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले अडियो प्रकरणबारे प्रश्न उठाएपछि मन्त्री चौधरीले आफूले अडियोमा सुनिएका व्यक्तिलाई नचिनेको बताइन्। अडियोमा दुई व्यक्तिले मन्त्री चौधरीसहित गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुरसिंह थारुको नाम लिँदै लेनदेनसम्बन्धी कुराकानी गरेको दाबी गरिएको छ।
अडियोमा बोल्ने एक व्यक्तिले आफूलाई मन्त्री चौधरीको ‘मामाकी छोरी’ भनेर चिनाएको सुनिएको समाचारमा उल्लेख छ। तर मन्त्री चौधरीले भने आफूहरूको कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताएकी छन्।
मन्त्री चौधरीले विषय कानुनी प्रक्रियामा गइसकेकाले अनुसन्धान जारी रहेको अवस्थामा थप टिप्पणी गर्न नमिल्ने बताइन्। उनले आफू सुशासनका लागि काम गर्न आएको उल्लेख गर्दै आरोप वा टिकाटिप्पणीभन्दा प्रमाणका आधारमा विषय उठाउन आग्रह गरिन्। प्रमाण भए आफू त्यसको सामना गर्न तयार रहेको उनको भनाइ छ।
उनले पत्रकारहरूलाई पनि सत्यतथ्य बुझेर मात्र समाचार सार्वजनिक गर्न आग्रह गरेकी छन्। साथै मन्त्री चौधरीले रासायनिक मल व्यवस्थापन तथा कृषि र वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी अघि बढाइरहेको जानकारी दिइन्।