काठमाडौं। विश्वका धनाढ्यहरुको सूचीमा महिलाको उपस्थिति पातलो छ । धनी महिलाहरुमा सबैभन्दा अगाडि छिन् फ्रान्सकी लिलियाने बुटेनकोर्ट । उनी समग्र सूचीको १४ औं स्थानमा छिन्।
उनी ९२ वर्षकी वृद्धा हुन् । महिलाहरुमध्ये दोस्रो नम्बरमा अमेरिकाकी एलिस वाल्टन र अमेरिकाकै ज्याकलिन मार्स रहेका छन् । उनीहरु समग्र सुचीमा क्रमश १७ औं र २६ औं नम्बरमा रहेका छन् । विश्वकै सबैभन्दा वृद्धा अरबपति मारिया प|mान्सा फिसोलो महिलाको सुचीमा चौंथो नम्बरमा छिन् ।
२० वर्षकी युवती अर्बपति
यो वर्ष ४० वर्षभन्दा कम उमेरका ५६ जना फोर्ब्सको अर्बपति सूचीमा परेका छन् जबकि अघिल्लो वर्ष ६६ जना थिए ।अलेसान्ड्रा एन्ड्रेसेन विश्वकै सबैभन्दा कम उमेरकी अर्बपति बनेकी छिन् । मात्र २० वर्षकी उनको सम्पत्ति एक अर्ब २० करोड डलर बराबर छ । अलेसान्ड्राकी एक वर्ष जेठी दिदी क्याथारिना दोस्रो नम्बरमा रहेकी छिन्, जसको सम्पत्ति समान १.२० अर्ब डलर रहेको छ । उनीहरु दुवै समग्र सूचीको १६ सय ७८ औं नम्बरमा छन् ।
अलेसान्ड्रा र क्याथारिनालाई उनीहरुका बाबु जोहान एन्ड्रेसेनले पारिवारिक स्वामित्वको इन्भेस्टमेन्ट कम्पनी फेर्डको ४२ प्रतिशत सम्पत्ति बराबरी बाँडेका थिए । यद्यपि अलेसान्ड्रा र क्याथारिना दुवैले कम्पनीका लागि काम गर्दैनन् । अहिलेसम्म पनि उनीहरुका बाबु जोहानले कम्पनी चलाइरहेका छन्, जसको ७० प्रतिशत भोटमाथि नियन्त्रण छ । अलेसान्ड्रा नर्वेमा घोडचढीकी तीन पटककी जुनियर च्याम्पियन पनि हुन् ।