web image
साउन ३१ ,काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन–५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाकी प्रतियोगी सुवासना विजेता घोषित भएकी हुन्।
उपाधि जितेसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। विजेता बनेपछि उनले टिम वाङ्देनलाई जसरी पनि उपाधि दिलाउने लक्ष्यका साथ आफूले प्रतिस्पर्धा गरेको बताइन्।
पहिलोपटक ‘द भ्वाइस किड्स’ मा कोचको भूमिकामा रहेका वाङ्देन शेर्पाले सुवासनाको जितलाई सपनाजस्तै अनुभव भएको प्रतिक्रिया दिए।
ग्रान्ड फिनालेमा आठ जना प्रतिभावान् बालगायक–गायिकाबीच कडा प्रतिस्पर्धा भएको थियो। टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोकाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
सिजनभर उत्कृष्ट प्रस्तुति दिँदै दर्शक र निर्णायकको मन जितेकी सुवासनाले अन्ततः उपाधिमाथि कब्जा जमाउँदै ‘द भ्वाइस किड्स–५’ को विजेताको इतिहास रचेकी छन्।
Share this with your friends: