भदौ १९ , काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक भएको दुई दिन नपुग्दै युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ।
बुधबार साँझ सार्वजनिक गरिएको गीतको भिडियोले शुक्रबार दिउँसोसम्म २१ लाखभन्दा बढी भ्युज बटुलेको हो। भिडियोमा ८७ हजारभन्दा बढी लाइक प्राप्त भएको छ भने ५ हजारभन्दा बढी प्रतिक्रिया आएका छन्।
गीत सार्वजनिक भएसँगै यसका विभिन्न अंश सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन्। विशेषगरी टिकटकमा गीतका टुक्राहरू प्रयोग गरेर बनाइएका भिडियोहरू बढिरहेका छन्। दर्शकहरूले विष्णु माझीको तीज गीत सार्वजनिक भएपछि मात्रै तीजको माहोल सुरु भएको महसुस भएको भन्दै प्रतिक्रिया दिएका छन्।
‘घरबार’ विष्णु माझीको चर्चित तीज गीत एल्बम ‘पुतलीको भट्टी–२२’ मा समावेश गीत हो। यस गीतमा पनि विष्णु माझीले विवाहित महिलाले भोग्ने पीडा, वेदना र पारिवारिक अवस्थालाई गीतमार्फत प्रस्तुत गरेकी छन्।
गीतमा विष्णु माझीको एकल स्वर रहेको छ। गीतका शब्द तथा संगीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले तयार गरेका हुन्। भिडियोमा सुन्दरमणि अधिकारीसँगै ललिता पौडेलको अभिनय देख्न सकिन्छ।
सुन्दरमणि अधिकारीको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। गीतले छोटो समयमै पाएको लोकप्रियतासँगै विष्णु माझीको तीज गीतप्रतिको दर्शकको चासो फेरि एकपटक देखिएको छ।