असोज २२ , काठमाडौं । भारतको मेघालयमा महिलामाथि बढ्दो हिंसा, घरेलु हिंसा र सार्वजनिक स्थानमा हुने दुर्व्यवहारविरुद्ध ठूलो संख्यामा महिलाले सडकमा उत्रिएर प्रदर्शन गरेका छन्।
शिलोङमा भएको प्रदर्शनमा सहभागी महिलाले ‘महिलाले लगाउने पहिरन उनीहरूको सहमति होइन’ भन्दै महिलाको स्वतन्त्रता र सुरक्षाको पक्षमा आवाज उठाएका छन्। प्रदर्शनकारीले महिलाले आफूले चाहेको पहिरन लगाउने अधिकार राख्ने र त्यसकै आधारमा कसैले दुर्व्यवहार वा हिंसा गर्न नपाउने बताएका छन्।
प्रदर्शनमा सहभागीहरूले मेघालयलाई मातृसत्तात्मक सामाजिक संरचना भएको राज्यका रूपमा चिनिए पनि त्यसले महिलामाथि हुने हिंसा र लैंगिक विभेद अन्त्य भएको अर्थ नलाग्ने बताएका छन्। उनीहरूका अनुसार सार्वजनिक स्थानमा हुने दुर्व्यवहारदेखि घरेलु हिंसासम्मका घटनाले महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाइरहेको छ।
प्रदर्शनकारीले पितृसत्तात्मक सोच अझै समाजमा गहिरो रूपमा रहेको र महिला हिंसाका धेरै घटना बाहिर नआउने दाबी गरेका छन्। उनीहरूले महिला हिंसा र उत्पीडनविरुद्ध खुलेर बोल्न तथा पीडितलाई न्यायको वातावरण बनाउनुपर्ने माग गरेका छन्।
राष्ट्रिय अपराध अभिलेख ब्युरो ९एनसीआरबी० को तथ्यांकअनुसार मेघालयमा सन् २०२४ मा महिलाविरुद्ध अपराधका ६५८ घटना दर्ता भएका थिए। सन् २०२३ मा यस्तो घटना संख्या ६२८ थियो। यसअनुसार एक वर्षमा महिलाविरुद्ध दर्ता भएका अपराध बढेका छन्।
प्रदर्शनकारीहरूले महिलामाथि हुने हिंसालाई केवल सार्वजनिक स्थानमा हुने अपराधका रूपमा मात्र नहेरी घरेलु हिंसा, यौन दुर्व्यवहार, हराएका महिलाका घटना तथा दर्ता हुन नसकेका हिंसाका घटनासमेत गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्।
वरिष्ठ पत्रकार प्याट्रिसिया मुखिमले महिलाले लगाएको पहिरनलाई आधार बनाएर उनीमाथि दुर्व्यवहार गर्ने वा छुनसमेत कसैलाई अधिकार नभएको बताएकी छन्। उनले महिलाको आफ्नो शरीर, पहिरन र सुरक्षामाथिको अधिकारलाई सम्मान गर्नुपर्नेमा जोड दिएकी छन्।
प्रदर्शनले मेघालयको मातृसत्तात्मक पहिचानका बाबजुद महिलाले भोगिरहेका वास्तविक समस्यालाई सार्वजनिक बहसमा ल्याएको छ। महिलामाथि हुने हिंसा अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक सोचमा परिवर्तन आवश्यक रहेको प्रदर्शनकारीहरूको भनाइ छ।