असोज २३ , काठमाडौं । भारतमा महिला तथा बालबालिकाको सुरक्षा, पोषण र सशक्तीकरणलाई प्रभावकारी बनाउने विषयमा केन्द्र र राज्य सरकारबीच छलफल भएको छ। महिला तथा बाल विकाससम्बन्धी दुईदिने विभागीय शिखर सम्मेलन अक्टोबर ८ र ९ मा नयाँ दिल्लीमा आयोजना गरिएको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर ९ मा नयाँ दिल्लीस्थित सुषमा स्वराज भवनमा सम्मेलनको समापन सत्रमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सम्मेलनमा सबै राज्यका राजनीतिक नेतृत्व तथा महिला र बाल विकास क्षेत्रमा कार्यरत अधिकारीहरूको सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य केन्द्र र राज्य सरकारबीच सहकार्य बढाउँदै महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउनु हो।
सम्मेलनमा चार प्रमुख विषयमा छलफल केन्द्रित गरिएको छ। जसमा आङ्गनवाडी केन्द्रमार्फत पोषण र प्रारम्भिक शिक्षाको गुणस्तर सुधार, जोखिममा रहेका बालबालिकाको संरक्षण प्रणाली सुदृढीकरण, कानुनी तथा संस्थागत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमार्फत महिला सुरक्षा र सरकारी योजनाको प्रभावकारिता बढाएर महिला सशक्तीकरण गर्ने विषय समावेश छन्।
सम्मेलनले विभिन्न राज्यमा अपनाइएका असल अभ्यास आदानप्रदान गर्ने, कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौती पहिचान गर्ने र सेवा प्रवाह सुधारका लागि समयबद्ध कार्ययोजना तय गर्ने लक्ष्य राखेको छ।
महिला तथा बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण र सरकारी योजनाको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र तथा राज्य सरकारबीच समन्वय बढाउने प्रयासका रूपमा यस सम्मेलनलाई हेरिएको छ।