असोज ४, काठमाडौं । पकाठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सेवा दिउँसोमा मात्र सीमित नराखी रातिको समयमा समेत विस्तार गर्नुपर्ने बताउनुभएको छ।
ललितपुरमा शनिबार आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा सम्बोधन गर्दै डंगोलले यातायात सेवा विस्तार स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने उहाँको भनाइ छ।
उहाँका अनुसार गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। सेवा सञ्चालन भएको पहिलो ९० दिनमै ६७ हजार यात्रुले रात्रिकालीन बस प्रयोग गरेको डंगोलले जानकारी दिनुभयो।
डंगोलले सार्वजनिक यातायातलाई केवल एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने माध्यमका रूपमा मात्र नभई अवसर र पहुँच विस्तार गर्ने साधनका रूपमा बुझ्नुपर्ने बताउनुभयो।
नियमित कार्यालय समयपछि पनि काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवाका लागि सुरक्षित रात्रिकालीन सार्वजनिक यातायात महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो। रातिसम्म काम वा अध्ययनमा व्यस्त हुने नागरिकलाई सुरक्षित रूपमा घर फर्किन यस्तो सेवाले सहज वातावरण निर्माण गर्ने उहाँको भनाइ छ।
रात्रिकालीन सार्वजनिक यातायातको विस्तारले काठमाडौं महानगरपालिकालाई मात्र नभई काठमाडौं उपत्यकाका विभिन्न शहरलाई समेत आपसमा जोड्न सहयोग पुग्ने डंगोलले बताउनुभयो।