पुस २९, काठमाडौं । गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा दिन थालिएको छ।
गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो।
आमा गर्भे शिशुको स्वास्थ्य अवस्था राम्रो होस भन्नका लागि भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
'भौगोलिक हिसाबले जटिल धार्चे गाउँपालिकाको सबै वडामा यातायातको सहज पहुँच छैन, यस्तो कठिनाइका बीच पनि गर्भवतीको स्वास्थ्य जाँचका लागि अन्यत्र अस्पतालसम्म धाएर पुग्नुपर्ने भएकाले गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी पठाएर घुम्ती सेवामार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ’, अध्यक्ष गुरुङले भने।
गर्भावस्थामा हुन सक्ने समस्याको समयमै पहिचान गरि उपचारको लागि सबै वडामा सेवा दिन सुरु गरिएको छ ।