असोज १३, काठमाडौं । भारतको नयाँ दिल्लीमा महिला किसानको कृषि क्षेत्रमा रहेको योगदान र नीतिनिर्माणमा उनीहरूको सहभागिताबारे छलफल गर्न अखिल भारतीय महिला किसान–मजदुर सम्मेलन आयोजना हुने भएको छ।
भारतीय किसान संघ (BKS) ले सेप्टेम्बर ३० मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा सम्मेलन आयोजना गर्न लागेको हो। आयोजकका अनुसार सम्मेलनमा देशभरबाट करिब ७ हजार महिला किसान तथा पदाधिकारी सहभागी हुनेछन्।
सम्मेलनको मुख्य उद्देश्य कृषि, पशुपालन र मत्स्यपालनमा महिलाको योगदानलाई औपचारिक रूपमा पहिचान गर्नु तथा कृषि नीतिसम्बन्धी निर्णयमा महिला किसानको सहभागिता बढाउने विषय उठाउनु रहेको BKS ले जनाएको छ।
BKS का अनुसार भारतमा महिलाले बाली रोप्ने, कटानी गर्ने, झार नियन्त्रण गर्ने तथा पशुपालनलगायत कृषि गतिविधिको ६० देखि ८० प्रतिशतसम्म काम गर्दै आएका छन्। साथै महिलाले परम्परागत कृषि ज्ञान, स्थानीय बीउ तथा जैविक विविधता संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संगठनको दाबी छ।
सम्मेलनमा प्राकृतिक तथा जैविक खेती, स्थानीय बीउ संरक्षण, पशुपालन, खाद्य प्रशोधन र ग्रामीण रोजगारी सिर्जनालगायत विषयमा काम गरेका महिला किसानलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।
संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ का रूपमा मनाइरहेको सन्दर्भमा यो सम्मेलन आयोजना गर्न लागिएको हो।