असोज ४, काठमाडौं । बेलायत सरकारले महिलामाथि हुने भेदभाव, दुर्व्यवहार र महिलाविरोधी सोच अर्थात् ‘मिसोजिनी’ सम्बोधन गर्न राष्ट्रिय टास्कफोर्स गठन गरेको छ। टास्कफोर्सको नेतृत्व महिला तथा समानता मन्त्री ब्रिजेट फिलिप्सनले गर्नेछिन्।
सरकारका अनुसार टास्कफोर्सले समाजका विभिन्न क्षेत्रमा महिलाविरोधी सोच र हानिकारक व्यवहार कसरी रोक्न सकिन्छ भन्ने विषयमा काम गर्नेछ। अनलाइन प्लेटफर्म, कार्यस्थल र समुदायमा देखिने महिलाविरोधी व्यवहारलाई यसको प्राथमिकतामा राखिएको छ।
टास्कफोर्समा महिला अधिकारसम्बन्धी संस्थाका प्रतिनिधि, शिक्षाविद्, स्थानीय नेतृत्व तथा सरकारका मन्त्रीहरू सहभागी हुनेछन्। महिलाको वास्तविक अनुभवलाई सरकारी नीति निर्माणमा समेट्ने उद्देश्यसमेत राखिएको छ।
टास्कफोर्सको पहिलो बैठकमा विशेषगरी युवा पुस्तामा केन्द्रित भएर छलफल गर्ने तयारी छ। त्यसपछि कार्यस्थल, डिजिटल क्षेत्र तथा सामाजिक एकतासँग सम्बन्धित विषयमा समेत अध्ययन गरिनेछ।
बेलायत सरकारले महिलाविरुद्ध हुने हिंसा तथा बालिकाविरुद्धका जोखिम न्यूनीकरण गर्ने आफ्नो व्यापक योजनासँग पनि यो पहललाई जोडेको छ। सरकारले आगामी एक दशकमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा आधा घटाउने लक्ष्यअन्तर्गत विभिन्न कार्यक्रम अघि बढाइरहेको जनाएको छ।
सरकारले यसअघि विद्यालयमा स्वस्थ सम्बन्ध, लैंगिक भूमिकाबारेको गलत धारणा र अनलाइनबाट फैलिने महिलाविरोधी सामग्रीबारे विद्यार्थीलाई शिक्षित गराउने कार्यक्रमका लागि १६ मिलियन पाउन्डको प्याकेज घोषणा गरेको थियो। बालबालिकामा हानिकारक व्यवहार विकास हुनुअघि नै हस्तक्षेप गर्न थप १० मिलियन पाउन्डको कोषसमेत उपलब्ध गराइएको छ।