भदौ २३, काठमाडौं । सामान्य अवस्थामा यतिबेला तीज गीतले नेपाली संगीत बजार तताइसकेको हुन्थ्यो। सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमा नयाँ–नयाँ तीज गीत गुञ्जिरहेका हुन्थे। तर, यस वर्ष हरितालिका तीज नजिकिँदै गर्दा विगतको तुलनामा तीज गीतको चहलपहल निकै कम देखिएको छ।
यस वर्ष भदौ २९ गते हरितालिका तीज परेको छ। तीज आउन एक साता मात्रै बाँकी रहँदा पनि विगतका वर्षमा जस्तो नयाँ गीतको बाढी आएको छैन। यसको मुख्य कारण पछिल्लो समय देशमा आएको विनाशकारी बाढीपहिरो र त्यसबाट सिर्जिएको असहज परिस्थिति रहेको कलाकार तथा सर्जकहरू बताउँछन्।
भोटेकोसीमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि त्यसको प्रभाव मनोरञ्जन क्षेत्रमा पनि परेको छ। तीजलाई लक्षित गरेर लामो समयदेखि तयारीमा रहेका कतिपय गीत निर्माणकै क्रममा रोकिए भने तयार भइसकेका गीतसमेत तत्काल सार्वजनिक गरिएनन्।
अहिले परिस्थिति केही सहज बन्दै गएपछि रोकिएका केही गीत भने क्रमशः सार्वजनिक हुन थालेका छन्। गायिका विष्णु माझीको तीज गीत ‘घरबार’, फिल्म ‘झिंगे दाउ २’ को ‘जेठानी भर्सेस देउरानी’, प्रकाश सपुत र निशा सुनारको ‘लाली लपक्कै सारी सपक्कै’ तथा समीक्षा अधिकारीको ‘यसपालिको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएका छन्।
तर, तयार भएका सबै गीत बजारमा आउने अवस्था भने छैन। कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीका अनुसार उनले यस वर्ष करिब २५–२६ वटा तीज गीतमा काम गरेका छन्। केही गीत सार्वजनिक भए पनि केही अझै रोकिएका छन्। अडियो तयार भइसकेका केही गीत अर्को वर्षका लागि सार्ने तयारीसमेत भइरहेको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अनुसार तीज गीत सार्वजनिक गर्न छुट्टै दर्ता वा अनुमति आवश्यक नपर्ने भएकाले हरेक वर्ष कति गीत सार्वजनिक हुन्छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर, सामान्य अवस्थामा करिब तीन सयको हाराहारीमा तीज गीत बजारमा आउने अनुमान गरिन्छ। यस वर्ष भने बाढीपहिरोको प्रभावले यो संख्या उल्लेख्य रूपमा घट्ने देखिएको छ।
सार्वजनिक भएका गीतले पनि विगतका वर्षमा जस्तो व्यापक चर्चा पाउन सकेका छैनन्। अहिलेसम्म एलिना चौहानको ‘नौरती फुली’ र विष्णु माझीको ‘घरबार’ ले तुलनात्मक रूपमा बढी चर्चा पाएका छन्।
बाढीको प्रभाव तीज गीतमा मात्रै सीमित छैन। केही कलाकारले विदेशमा तय भएका तीज विशेष सांगीतिक कार्यक्रमसमेत स्थगित गरेका छन्। गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका आफ्ना सबै तीज कार्यक्रम रद्द गरेर नेपाल फर्किएकी छन्। उनले अहिले उत्सवभन्दा विपद्मा परेका नेपालीको साथमा उभिनु आवश्यक रहेको बताएकी छन्।
लोकदोहोरी गायक खुमन अधिकारीले पनि अस्ट्रेलियालगायत विभिन्न देशमा तय भएका तीज विशेष कार्यक्रम स्थगित गरेका छन्।
तर, केही कलाकारले भने तीज कार्यक्रमलाई राहत तथा सहयोगको माध्यम बनाएका छन्। अस्ट्रेलियामा रहेकी गायिका एलिना चौहानले तीज कार्यक्रमलाई च्यारिटी कार्यक्रममा परिणत गरेकी छन्। उनका अनुसार तीनवटा च्यारिटी कार्यक्रमबाट संकलित रकम बाढी प्रभावितका लागि पठाइएको छ।
एलिनासहित पशुपति शर्मा र प्रताप दासले अस्ट्रेलियामा तीज मेला २०२६ मा प्रस्तुति दिएका थिए। त्यस्तै, खेम सेञ्चुरी र समीक्षा अधिकारीले न्युजिल्यान्डमा तीज मेलामा प्रस्तुति दिएका छन् भने शान्तिश्री परियार तीज विशेष कार्यक्रमका लागि जापान पुगेकी छन्।
यस वर्षको तीजमा मनोरञ्जनको उत्साह विगतको जस्तो नदेखिए पनि कलाकार तथा सर्जकले विपद्को संवेदनशीलतालाई ध्यानमा राख्दै आफ्ना गतिविधि अघि बढाइरहेका छन्। कतिपयले कार्यक्रम स्थगित गरेका छन् भने कतिपयले तीजकै माध्यमबाट बाढी प्रभावितलाई सहयोग गर्ने प्रयास गरेका छन्।