web image
असार ५, काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या ८ हजार २७४ पुगेको छ । नयाँ सङ्क्रमितमध्ये ३३८ पुरुष र ८८ महिला छन् ।
एकैदिन २१६ जना डिस्चार्ज
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये नौ महिला र २०७ पुरुष रहेका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख नौ हजार ४६१ जना क्वारेन्टिनमा र छ हजार ८५० जना आइसोलेशनमा रहेका छन् । मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिँदै आएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु नभएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।
Share this with your friends: