बैशाख ७, काठमाण्डौ । गत शुक्रबार जनकपुरमा पैसा छरेका दुई मुस्लिम महिलामा कोरोना संक्रमण नदेखिएको चिकित्सकहरुले बताएका छन्।
उनीहरु दुवैजनालाई प्रहरीले शनिवार दिउँसो जानकी मन्दिर छेउबाट पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै गरिएको आरडिटी परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनीहरुको थ्रोट स्वाब निकालेर त्यसको नमूनाको पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा दुवैमा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
उनीहरु दुईजनाले गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेका थिए । नोट छरेर एकाएक गायब भएका उनीहरुको सिसीटिभी फूटेजका आधारमा प्रहरीले तीव्र खोजी गरेको थियो ।
उनीहरुले पैसा त्यसरी किन फाले र गायब भए भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई जारी राखेको छ । प्रहरीलाई बयान दिने क्रममा ती दुई महिलाले विदेशबाट आएको पैसा निकालेर घर जाँदै गर्दा १० रुपैयाँ दरका १५ थान नोट बाटोमा खसेको, आफूहरुले जानाजान पैसा नछरेको दाबी गरेका छन् । तर, उनीहरुको दाबीलाई प्रहरीले पत्याइहालेको छैन ।
यसअघि पैसा छरेर एकाएक ती महिला गायब भएपछि पैसाको माध्यमबाट कोरोना संक्रमण फैलाउन खोजिएको आशंका गरिएको थियो ।