भदौ २५, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी एक महिलाले अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको छ।
राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवानलाई मंगलबार राति करिब डेढ बजे प्रसव पीडा सुरु भएको थियो। त्यसपछि उनी श्रीमान् हरेराम पासवान र आफन्त दुई महिलासँगै सिटी रिक्सामा अस्पताल पुगेकी थिइन्।
वविताका अनुसार अस्पतालको प्रसूति विभागमा रहेकी स्वास्थ्यकर्मीले सुरुमा अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने बताइन्। ती परीक्षणका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने जानकारी दिइएको उनको दाबी छ।
तर आफूसँग पैसा नभएको बताएपछि अस्पतालले जाँच नगरी भर्ना गर्न नमानेको र बाहिर जान भनेको वविताको आरोप छ। त्यसपछि उनी परिवारसहित अस्पताल बाहिर निस्किइन्।
अस्पताल नजिकैको एक औषधि पसल अगाडि पुगेपछि उनले त्यहाँका व्यक्तिलाई सहयोगका लागि आग्रह गरिन्। बिहान चिकित्सक आएपछि जाँच गराइदिने भन्दै त्यहीँ बस्न भनिएको वविताले बताएकी छन्।
केही समयपछि उनलाई प्रसव पीडा बढ्यो। आफन्त महिलाहरूले उनको हेरचाह गरिरहेका बेला उनले बुधबार बिहान फुटपाथमै छोरालाई जन्म दिइन्। घटनाको भिडियो सार्वजनिक भएपछि अस्पताल र स्वास्थ्य सेवा प्रणालीप्रति प्रश्न उठेको छ।
वविताको दाबीअनुसार बच्चा जन्मिएपछि पनि उनी अस्पताल पुगेकी थिइन्। तर आफूलाई भर्ना नगरिएको र स्वास्थ्यकर्मीले अस्पतालबाट बाहिर जान भनेको उनले बताएकी छन्।
तर अस्पतालका अधिकारीहरूले भने वविताको दाबीभन्दा फरक विवरण दिएका छन्। अस्पतालका निःशुल्क स्वास्थ्य सेवाका फोकल पर्सन मनोज देवले वविता राति अस्पताल आएपछि २४ नम्बर बेडमा भर्ना भएको दाबी गरेका छन्।
उनका अनुसार प्रारम्भिक जाँचपछि गर्भावस्थामा आवश्यक स्वास्थ्य परीक्षण नगराएको देखिएपछि थप परीक्षणका लागि उनलाई ल्याबमा पठाइएको थियो। उनीहरू ल्याबमा गएपछि अस्पतालबाट बाहिरिएको र बिहान करिब ५ बजे बच्चा जन्माइसकेपछि मात्र अस्पतालमा फर्किएको देवको दाबी छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रञ्जितकुमार झाले आफूले भिडियो हेरेपछि मात्र घटनाबारे जानकारी पाएको बताएका छन्। घटनाबारे छानबिन गर्न समिति गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित प्रतिशत शय्या छुट्याउनुपर्ने कानुनी व्यवस्था छ। यस्तो व्यवस्था हुँदाहुँदै सरकारी अस्पतालअगाडि नै एक विपन्न महिलाले प्रसव पीडामा फुटपाथमै बच्चा जन्माउनुपरेको घटनाले स्वास्थ्य सेवामा गरिब नागरिकको पहुँचबारे गम्भीर प्रश्न उठाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष छानबिन गरी दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कारबाही गर्नुपर्ने मागसमेत उठेको छ।