भदौ २१, काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी महिला र नवजात शिशु सुरक्षित आवास, पर्याप्त पोषण तथा स्वास्थ्य सेवाको अभावमा जोखिममा परेका छन्। विस्थापित शिविरमा महिला र बालबालिकाका विशेष आवश्यकता पूरा हुन नसक्दा उनीहरूको स्वास्थ्य तथा सुरक्षामा थप चुनौती देखिएको हो।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९यूएनएफपीए० का अनुसार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब ४ हजार ४ सय ३० गर्भवती महिला रहेको प्रारम्भिक अनुमान छ। यही आधारमा आगामी एक महिनामा करिब ४ सय ९२ शिशु जन्मिन सक्ने र करिब ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने आकलन गरिएको छ।
बाढीका कारण सडक, पुल र स्वास्थ्य संस्था प्रभावित हुँदा गर्भवती तथा सुत्केरीलाई अस्पताल पुग्नसमेत कठिन भएको छ। त्रिशूली अस्पतालमा बाढीपछि नौ जना महिलाको प्रसूति भइसकेको र केही महिलालाई थप उपचारका लागि हेलिकोप्टर तथा एम्बुलेन्सबाट अन्यत्र पठाउनुपरेको अस्पतालले जनाएको छ।
विस्थापित शिविरमा सुरक्षित र निजी रूपमा स्तनपान गराउने ठाउँको अभाव, पर्याप्त खाना तथा शिशुका लागि उमेरअनुसारको पोषण नहुनु पनि प्रमुख समस्या बनेको छ। कतिपय शिविरमा महिला, पुरुष, बालबालिका तथा बिरामीलाई एउटै स्थानमा राखिँदा गोपनीयता र सुरक्षासम्बन्धी समस्या देखिएको छ।
महिला अधिकारकर्मीहरूले विपद्का बेला सबै विस्थापितलाई एउटै समूहका रूपमा हेर्नुभन्दा गर्भवती, सुत्केरी, नवजात शिशु, किशोरीलगायत जोखिममा रहेका समूहको छुट्टाछुट्टै आवश्यकता पहिचान गरी सहायता उपलब्ध गराउनुपर्ने बताएका छन्। साथै, यौन हिंसा तथा मानव बेचबिखनको जोखिमसमेत बढ्न सक्ने भएकाले महिलामैत्री सुरक्षित स्थान आवश्यक रहेको उनीहरूको भनाइ छ।
यूएनएफपीएले घुम्ती स्वास्थ्य टोलीमार्फत गर्भपूर्व तथा प्रसवपछिको स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेको छ। संस्थाले २ हजार डिग्निटी किट, ८ सय किशोरी किट र ३ सय त्रिपालसमेत प्रभावित क्षेत्रमा पठाएको जनाएको छ।
विपद्को पानी घट्दै गए पनि प्रभावित गर्भवती र सुत्केरी महिलाका लागि संकट भने तत्काल अन्त्य नभएको देखिएको छ। सुरक्षित आश्रय, पर्याप्त पोषण, गोपनीयता र आकस्मिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।