असोज १३, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले दक्षिण–पूर्वी एसियाका महिलालाई नेतृत्वमा निरन्तर अघि बढ्न र निर्णय प्रक्रियामा आफ्नो स्थानका लागि आवाज उठाउन आह्वान गरेका छन्।
मंगलबार फिलिपिन्समा आयोजित आसियान महिला नेतृ सम्मेलनलाई सम्बोधन गर्दै मार्कोसले महिलाको नेतृत्व क्षेत्रीय विकास र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका हुन्। उनले महिलाले नेतृत्वमा प्राप्त गरेको स्थानलाई कायम राख्दै अझ अगाडि बढ्नुपर्नेमा जोड दिए।
मार्कोसले महिला र पुरुषबीच समान अवसर सुनिश्चित गर्नुपर्ने बताउँदै समाज तथा संस्थाहरूमा महिलाको सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार महिलालाई नेतृत्वका लागि अवसर दिनु मात्र पर्याप्त नभई उनीहरूको आवाज नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा समेटिनु पनि आवश्यक छ।
आसियान क्षेत्रमा महिला नेतृत्व, लैंगिक समानता र महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो। सम्मेलनले महिलाको नेतृत्व विकाससँगै क्षेत्रीय सहकार्यमा महिलाको भूमिकालाई थप बलियो बनाउने विषयमा पनि जोड दिएको छ।