असोज ११, काठमाडौं । भोटेकोशी बाढीका कारण सडक सम्पर्क विच्छेद भएपछि रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका गर्भवती महिलाहरू नियमित गर्भजाँच तथा अल्ट्रासाउन्ड सेवाबाट वञ्चित भएका छन्। बाढीले जिल्ला सदरमुकाम धुन्चेसँगको सडक सम्पर्क तोडिएपछि गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएको हो।
आमाछोदिङ्मो–२ गाउँकी सात महिनाकी गर्भवती दावा कान्छी तामाङले करिब एक महिनाअघि नै अल्ट्रासाउन्ड गर्नुपर्ने भए पनि हालसम्म परीक्षण गराउन सकेकी छैनन्। उनीजस्तै ग्रे गाउँका अन्य तीन गर्भवती पनि बाढीपछि नियमित गर्भजाँच सेवाबाट वञ्चित रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्।
गाउँपालिकाले गत वर्ष नै अल्ट्रासाउन्ड मेसिन खरिद गरे पनि सञ्चालनका लागि तालिमप्राप्त जनशक्ति नहुँदा सेवा सञ्चालन हुन सकेको छैन। यसअघि गर्भवतीहरू परीक्षणका लागि सदरमुकाम धुन्चे पुग्ने गरेका थिए। तर बाढीपछि सडक सम्पर्क विच्छेद हुँदा यो विकल्पसमेत बन्द भएको छ।
स्वास्थ्य अधिकारीका अनुसार नदी पार गर्न केही स्थानमा तुइन राखिए पनि गर्भवती महिलाका लागि त्यहाँसम्म पुग्नै कठिन छ। तुइन तरेपछि पनि सदरमुकाम पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ। यसले प्रसूति सेवा र आकस्मिक उपचारमा थप जोखिम निम्त्याउन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ।
चिकित्सकहरूका अनुसार गर्भवती महिलाले प्रसूतिअघि कम्तीमा आठ पटक गर्भजाँच गराउनुपर्छ। साथै गर्भावस्थामा कम्तीमा तीन पटक अल्ट्रासाउन्ड परीक्षण गर्नुपर्ने हुन्छ। नियमित जाँचबाट गर्भावस्थामा देखिन सक्ने जटिलता समयमै पहिचान गर्न सकिने भएकाले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर राख्नुपर्ने विशेषज्ञहरूले बताएका छन्।
गर्भावस्थाको तेस्रो त्रैमासिकमा जटिलता देखिन सक्ने भएकाले प्रसूतिको मिति नजिकिएका महिलालाई अस्पताल आसपास सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन चिकित्सकहरूले सुझाव दिएका छन्। प्रभावित क्षेत्रमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरी गर्भवती तथा सुत्केरी महिलालाई समयमै सेवा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।
आमाछोदिङ्मोका स्वास्थ्यकर्मीका अनुसार गम्भीर बिरामीलाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ। पछिल्लो समय एक बालकलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनीहरूले बताएका छन्। यसले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र यातायातको पहुँच अझै चुनौतीपूर्ण रहेको देखाएको छ।
Share this with your friends: