असोज ११, काठमाडौं । दिल्ली विश्वविद्यालयको नर्थ क्याम्पसमा महिला सुरक्षाको माग गर्दै विद्यार्थीहरूले ‘क्याम्पस न्याय मार्च’ निकालेका छन्। विद्यार्थी संगठन एसएफआईसँग आबद्ध विद्यार्थीहरूले शनिबार मार्च गर्दै विश्वविद्यालय परिसर तथा सार्वजनिक स्थानमा महिलाका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न माग गरेका हुन्।
मार्चका क्रममा सहभागीहरूले महिलाको सुरक्षा अवस्थामाथि प्रश्न उठाउँदै नाराबाजी गरेका थिए। उनीहरूले महिला तथा छात्रामाथि हुने यौन हिंसाका घटना सार्वजनिक बहस र सुरक्षासम्बन्धी प्रतिबद्धताबीच पनि दोहोरिइरहेको भन्दै सम्बन्धित निकाय थप जवाफदेही बन्नुपर्ने माग गरेका छन्।
विद्यार्थीहरूले ‘भारतमा महिला अझै किन सुरक्षित छैनन्रु’ लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले विश्वविद्यालय परिसर, कलेज जाने–आउने बाटो र सार्वजनिक स्थानलाई सुरक्षित बनाउन प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्।
एसएफआईका विद्यार्थीहरूले महिला सुरक्षालाई घटना भएपछि मात्र प्रतिक्रिया दिने विषयका रूपमा नभई निरन्तर संस्थागत पहल र जवाफदेहितासँग जोड्नुपर्ने बताएका छन्। उनीहरूले सुरक्षित क्याम्पस र सार्वजनिक स्थान निर्माणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्नसमेत माग गरेका छन्।
Share this with your friends: