असोज ९, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित १२ वटा ऐनलाई एकैपटक संशोधन गर्ने गरी विधेयक तयार गरेको छ। मन्त्रालयले विभिन्न कानुनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्यले एकीकृत विधेयकमार्फत ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयअन्तर्गत रहेका विभिन्न कानुनमा देखिएका व्यावहारिक समस्या समाधान गर्ने तथा बदलिँदो सामाजिक परिवेशअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने उद्देश्यले संशोधन प्रस्ताव अघि सारिएको हो।
प्रस्तावित विधेयकमार्फत महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षासँग सम्बन्धित कानुनी प्रावधानमा आवश्यक सुधार गर्ने तयारी गरिएको छ। विभिन्न ऐनमा रहेका दोहोरोपन हटाउने, कार्यान्वयनलाई प्रभावकारी बनाउने र सम्बन्धित वर्गको अधिकार संरक्षणलाई थप स्पष्ट बनाउने विषय संशोधनको प्राथमिकतामा रहने बताइएको छ।
मन्त्रालयले पछिल्लो समय महिला तथा बालबालिकाको सुरक्षा, लैंगिक हिंसा नियन्त्रण, सामाजिक संरक्षण र विपद्का समयमा जोखिममा रहेका समूहको संरक्षणलाई प्राथमिकतामा राख्दै आएको छ। विपद् प्रभावित महिला तथा बालबालिकामाथि हुने हिंसा र मानव बेचबिखनको जोखिम कम गर्न निगरानीसमेत बढाइएको मन्त्रालयले जनाएको छ।
कानुन संशोधनको प्रक्रियामा सम्बन्धित सरोकारवाला, विज्ञ तथा अन्य निकायसँग आवश्यक छलफल गरी विधेयकलाई अन्तिम रूप दिने तयारी गरिएको छ। त्यसपछि विधेयकलाई संघीय संसद्को प्रक्रियामा अघि बढाइनेछ।