असोज ९, काठमाडौं । नेपाल प्रहरीले एक अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार शाहीमाथि १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको आरोप छ। विदेशमा काम गर्ने नेपाली श्रमिकले कमाएको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई विभिन्न व्यक्तिका बैंक खातामार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा विदेशबाट प्राप्त रकमलाई स–साना भागमा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको खुलेको प्रहरीको दाबी छ।
सीआईबीका अनुसार शाहीले इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेको ‘शाही मनी ट्रान्सफर’का नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामार्फत उक्त रकम कारोबार गरेको पाइएको छ।
हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, सुनसरीबाट पक्राउ अनुमति लिएर उनलाई धरानको खैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।