असोज ८, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग निर्णायक खेल खेल्दैछ। समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको नेपाल दोस्रो खेलमा चिनियाँ ताइपेईसँग ३७–१८ ले पराजित भएको थियो।
चिनियाँ ताइपेईविरुद्धको खेलको पहिलो हाफमा नेपाल १३–१३ को बराबरीमा थियो। तर दोस्रो हाफमा नेपालले २४–५ को स्कोरमा पछि पर्दै खेल गुमाएको हो।
अब नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ। समूह ‘बी’मा नेपालसँगै थाइल्यान्ड, श्रीलंका र चिनियाँ ताइपेई छन्। प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
यसअघि १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो।