असोज ८, काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भेनेजुएला पूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको बताउँदै निर्वाचन हुने स्पष्ट पारे पनि त्यसको मिति भने घोषणा गरिनन्।
रोड्रिगेजले विपक्षी राजनीतिक समूहहरूसँग संवाद सुरु गरिएको र सबै पक्षलाई समान अवसर उपलब्ध हुने निर्वाचन प्रक्रियाका लागि छलफल भइरहेको बताइन्। उनका अनुसार निर्वाचनका लागि उपयुक्त समय भेनेजुएलाका जनताले निर्धारण गर्नेछन्।
उनले निर्वाचनका बेला देशका संस्थाहरू समावेशी तथा पारदर्शी प्रक्रिया सुनिश्चित गर्न तयार रहने दाबीसमेत गरिन्। निर्वाचन प्रक्रियालाई राजनीतिक संक्रमणसँग जोड्दै सरकारले विपक्षी पक्षसँग संवाद अघि बढाएको उनको भनाइ थियो।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा निर्वाचनअघि राजनीतिक तथा आर्थिक संस्थालाई सुदृढ बनाउनुपर्ने बताएका छन्। उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि राजनीतिक दललाई संगठित हुने, उम्मेदवारलाई मतदातासम्म पुग्ने र मतगणना तथा परिणाम सार्वजनिक गर्ने प्रक्रियाप्रति जनविश्वास कायम हुने वातावरण आवश्यक रहेको बताएका छन्।
रोड्रिगेज र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच संयुक्त राष्ट्रसंघ महासभाको क्रममा भेटवार्ता पनि भएको थियो। भेटमा भेनेजुएलाको राजनीतिक संक्रमण, आर्थिक पुनरुत्थान र निर्वाचनबारे छलफल भएको बताइएको छ। निर्वाचनको मिति भने उक्त भेटपछि पनि सार्वजनिक गरिएको छैन।