असोज ९, काठमाडौं । भारतको बिहारमा महिलामाथि हुने अपराधका घटनालाई लिएर लोक जनशक्ति पार्टी (रामविलास) की सांसद शम्भवी चौधरीले मुख्यमन्त्री सम्राट चौधरीसँग भेटवार्ता गरेकी छन्। उनले राज्यमा महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न र अपराधका घटनामा शीघ्र न्यायको व्यवस्था गर्न माग गरेकी छन्।
बिहीबार भएको भेटमा चौधरीले महिलामाथि हुने यौन दुर्व्यवहार, हिंसा तथा अन्य अपराधका घटनाको निष्पक्ष र छिटो अनुसन्धान गर्नुपर्ने विषय उठाएकी थिइन्। उनले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि प्रभावकारी अभियोजन र कानुनी कारबाही सुनिश्चित गर्न आग्रह गरेकी छन्।
उनको मुख्यमन्त्रीसँगको भेट बिहारका विभिन्न जिल्लामा महिलासँग सम्बन्धित घटनालाई लिएर सार्वजनिक चिन्ता बढिरहेका बेला भएको हो। समस्तीपुरमा एक बालिकामाथि सार्वजनिक स्थानमा दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसअघि जमुईमा कक्षा १० मा अध्ययनरत किशोरीमाथि भएको भनिएको आक्रमणको घटनाले पनि राज्यमा महिला सुरक्षाबारे प्रश्न उठाएको थियो।
चौधरीले महिला तथा बालिकाको सुरक्षा, सम्मान र गरिमा सरकारको प्राथमिकतामा हुनुपर्ने बताउँदै यस्ता घटनाले पीडितको जीवनमा असर पार्नुका साथै समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गर्ने उल्लेख गरेकी छन्। दुवै घटनामा मुख्य आरोपीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी अधिकारीहरूले बताएका छन्।
यसअघि चौधरीले महिलाको सुरक्षासम्बन्धी कानुनको समीक्षा गर्नुपर्ने आवश्यकता पनि औँल्याएकी थिइन्। पछिल्लो समय युवायुवतीले बनाएका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रममा हुने दुर्व्यवहार तथा अपराधको स्वरूपबारे पनि उनले चिन्ता व्यक्त गरेकी छन्।