असोज ११, काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफ्नो ६१ वर्ष लामो सांगीतिक यात्रामा गीत गाएबापत एकपटक मात्र पारिश्रमिक लिएको बताएकी छन्। ७५ वर्षीया राणाले शनिबार सरु संगीत घर, टीकाथलीले प्रदान गरेको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ ग्रहण गर्ने क्रममा आफ्नो सांगीतिक यात्राका अनुभव सुनाएकी हुन्।
राणाका अनुसार उनले लामो समयसम्म गीतसंगीतमा योगदान दिए पनि पारिश्रमिकका रूपमा पैसा लिने अवसर एकपटक मात्र आएको थियो। उनका अनुसार संगीतकार शम्भुजित बाँस्कोटाले एकेडेमीमा गीत गाएबापत उनलाई ३ हजार रुपैयाँ दिएका थिए।
राणाले आफूले पाएको उक्त रकम व्यक्तिगत प्रयोजनमा खर्च नगरी आफूले स्थापना गरेको मीरा राणा क्यान्सर समाजमा राखेको बताइन्। आफू पनि क्यान्सरबाट प्रभावित भएको उल्लेख गर्दै उनले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले समाज स्थापना गरेको जानकारी दिइन्।
उनले सन् २०२१ मा क्यान्सरको शल्यक्रिया भएको र बेलायतमा उपचार गराएको बताइन्। उपचारपछि आफू स्वस्थ रहेको उल्लेख गर्दै राणाले क्यान्सर भएका व्यक्तिले आत्मबल बलियो बनाउनुपर्ने धारणा राखिन्। उनले क्यान्सर न्यूनीकरण र क्यान्सरपीडितलाई सहयोग गर्न सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन्।
नेपाली आधुनिक संगीतमा ६ दशकभन्दा लामो योगदान पुर्याएको भन्दै राणालाई यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो। टीकाथलीमा आयोजित समारोहमा वरिष्ठ संगीतकार सीके रसाइलीले उनलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित पुरस्कार प्रदान गरे। पुरस्कारको राशि २५ हजार ५ सय ५ रुपैयाँ रहेको छ।
यसअघि राणाको ६ दशक लामो सांगीतिक यात्रालाई समेटेर काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मीरा राणा एकल सांगीतिक साँझ’समेत आयोजना गरिएको थियो। कार्यक्रममा उनले स्वर दिएका तथा संगीत भरेका विभिन्न चर्चित गीत प्रस्तुत गरिएका थिए। कार्यक्रमबाट प्राप्त रकम क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको थियो।