असोज ९, काठमाडौं । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले किशोरी गर्भावस्था विश्वव्यापी रूपमा रोकथाम गर्न सकिने समस्या भए पनि सामाजिक तथा आर्थिक असमानताका कारण यसको जोखिम सबै किशोरीमा समान नरहेको जनाएको छ। विशेषगरी गरिबी, शिक्षामा सीमित पहुँच, बालविवाह, यौन हिंसा तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवामा पहुँचको अभावले किशोरी गर्भावस्थाको जोखिम बढाउने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार २०२५ मा विश्वभर १० देखि १९ वर्ष उमेरका अनुमानित १ करोड २३ लाख किशोरीले बच्चा जन्माएका थिए। किशोरी गर्भावस्थाको दर विश्वव्यापी रूपमा घटिरहेको भए पनि विभिन्न क्षेत्र तथा सामाजिक समूहबीच ठूलो अन्तर कायम रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघले किशोरी गर्भावस्था रोकथामका लागि गुणस्तरीय शिक्षा, व्यापक यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, किशोरीमैत्री स्वास्थ्य सेवा र गर्भनिरोधक साधनमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएको छ। साथै बालविवाह रोक्ने कानुनको प्रभावकारी कार्यान्वयन र यौन हिंसाबाट बालिकालाई संरक्षण गर्ने व्यवस्था बलियो बनाउनुपर्ने उल्लेख गरिएको छ।
प्रतिवेदनले किशोरी गर्भावस्थालाई केवल व्यक्तिगत समस्या नभई अधिकार, स्वास्थ्य, शिक्षा र सामाजिक समानतासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने जनाएको छ। किशोरीलाई आफ्नो स्वास्थ्य र भविष्यबारे निर्णय गर्न आवश्यक सूचना, सेवा र सुरक्षित वातावरण उपलब्ध गराउनु रोकथामको महत्वपूर्ण आधार हुने संयुक्त राष्ट्रसंघको निष्कर्ष छ।