असोज ६, काठमाडौं । बाँकेमा पाठेघरको मुखको क्यान्सरबाट बचाउन सञ्चालन गरिएको एचपीभी खोप अभियानअन्तर्गत एक सातामै ३ हजार ११९ किशोरीले खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सेप्टेम्बर १७ देखि सुरु भएको अभियानअन्तर्गत जिल्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा हालसम्म खोप लगाइएको कार्यालयले जनाएको छ। अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई लक्षित गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयले कक्षा ६ का ४ हजार ३८० छात्रा र विद्यालयबाहिर रहेका करिब ५ हजार ६९१ जना १० वर्ष उमेरका बालिकालाई एचपीभी खोप लगाउने लक्ष्य राखेको छ।
खोप अभियानका फोकल व्यक्ति देवनारायण उपाध्यायका अनुसार सरकारले एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिसकेको छ। महिनावारी सुरु हुनुअघि एचपीभीविरुद्धको खोप लगाउँदा संक्रमणबाट प्रभावकारी सुरक्षा प्राप्त गर्न सकिने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार लक्षित किशोरीमध्ये ९९ प्रतिशतभन्दा बढीमा खोपको पहुँच पुर्याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण योगदान पुग्नेछ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक रहेको र यसबाट दैनिक औसत चार महिलाको मृत्यु हुने स्वास्थ्यसम्बन्धी तथ्यांक उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ। गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनाले एचपीभी खोप लगाएका थिए।