असोज १, काठमाडौं । कांग्रेस सांसद उर्मिला थपलिया (सीता)ले सुत्केरी महिलाले भोगेको पीडालाई राजनीतिक षडयन्त्रका रूपमा नहेर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेताहरूलाई आग्रह गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थपलियाले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ढोकामा बबिताकुमारी पासवानले बच्चा जन्माउनुपरेको घटनालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप नगर्न आग्रह गरेकी हुन्।
उनले एउटी आमा प्रसव पीडामा अस्पतालको ढोकामै बच्चा जन्माउन बाध्य हुनु गम्भीर र विडम्बनापूर्ण घटना भएको बताइन्। यस्तो विषयमा राजनीति नगरी पीडित परिवारलाई न्याय र दोषीमाथि कारबाहीको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
सांसद थपलियाले अस्पतालमा उपचारका लागि पुगेका नागरिकसँग आर्थिक अवस्था हेरेर व्यवहार गर्न नहुने बताउँदै घटनामा अस्पतालमाथि कारबाही हुन्छ कि हुँदैन र पीडित परिवारले न्याय पाउँछ कि पाउँदैन भन्ने प्रश्न गरिन्। यस्ता घटना दोहोरिन नदिन सरकारले स्पष्ट कदम चाल्नुपर्ने उनको माग थियो।
उनले सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे संकल्पमध्ये कति कार्यान्वयन भए र कति बाँकी छन् भन्नेबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने बताइन्।
त्यस्तै, महँगी, ग्यास अभाव तथा मन्त्रीहरूको विवादास्पद अभिव्यक्तिप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराइन्। पुराना राजनीतिक दललाई आलोचना गरेर मात्रै नयाँ राजनीतिक संस्कार स्थापित नहुने उनको भनाइ थियो।