भदौ ३१, काठमाडौं । धनुषामा एक १६ वर्षीया बालिकालाई अपहरण गरी होटलमा १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लागेका मुख्य अभियुक्तलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
अदालतको आदेशपछि २३ वर्षीय मुख्य अभियुक्त ताहिर राइनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनी घटनापछि कतार पुगेका थिए र इन्टरपोलमार्फत पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो।
प्रहरीका अनुसार धनौजी गाउँपालिकाकी बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुर ल्याएको र विभिन्न होटलमा जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि बालिका पुनः अपहरणमा परेको र जनकपुरका दुई होटलमा १९ दिनसम्म बन्धक बनाइएको अभियोग छ।
यस घटनामा बालिकालाई होटलमा बन्धक बनाएर जबरजस्ती करणी गरिएको तथा ग्राहकबाट समेत रकम लिएर जबरजस्ती करणी गर्न लगाइएको आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। घटनामा दुई प्रहरीसहित करिब एक दर्जन व्यक्ति अभियुक्त रहेको र अधिकांश अझै फरार रहेको प्रहरीले जनाएको छ।
यस्तै, घटना मिलाउन २० लाख रुपैयाँको दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारीलाई भने जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
घटनापछि सुरक्षा जोखिमका कारण पीडित बालिका हाल सेफ हाउसमा रहेको समाचारमा उल्लेख छ।