भदौ २६, काठमाडौं । भारतको प्रयागराजमा ग्रामीण महिलाको स्वास्थ्य सेवामा पहुँच बढाउन ‘स्वास्थ्य सखी’ कार्यक्रम सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य, पोषण, सरसफाइ तथा लैंगिक विषयमा जनचेतना बढाउने उद्देश्यले स्वयं सहायता समूहमा आबद्ध महिलालाई ‘स्वास्थ्य सखी’का रूपमा परिचालन गरिएको हो।
प्रयागराज जिल्लामा विभिन्न स्वयं सहायता समूहका १ हजार २०८ महिलालाई स्वास्थ्य सखीको जिम्मेवारी दिइएको छ। उनीहरूलाई मातृ तथा बाल स्वास्थ्य, प्राथमिक उपचार, पोषण र खोपसम्बन्धी विशेष तालिम प्रदान गरिएको छ।
गाउँमै बस्ने भएकाले स्वास्थ्य सखीमार्फत महिलाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या सहज रूपमा राख्न सक्ने अपेक्षा गरिएको छ। विशेषगरी गर्भावस्थाका जटिलता, महिनावारी स्वच्छता तथा अन्य स्वास्थ्य समस्याबारे महिलालाई परामर्श र आवश्यक स्वास्थ्य सेवासँग जोड्ने काम उनीहरूले गर्नेछन्।
स्वास्थ्य सखीहरूले गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पोषणको निगरानी, संस्थागत प्रसूति प्रोत्साहन तथा आवश्यक परे स्वास्थ्य केन्द्रसम्म पुग्न सहयोग गर्नेछन्। उनीहरूले रक्तचाप र रक्तअल्पताको सामान्य परीक्षणसमेत गर्नेछन्। साथै, आँगनवाडी कार्यकर्ता र एएनएमसँग समन्वय गरी बालबालिकाको नियमित खोप तथा कुपोषण रोकथाममा सहयोग गर्नेछन्।
कार्यक्रमअन्तर्गत प्रत्येक स्वास्थ्य सखीले महिनामा कम्तीमा १० दिन काम गर्नुपर्ने र प्रतिदिन २०० भारतीय रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ। यसबाट ग्रामीण महिलालाई स्वास्थ्य सेवामा योगदान पुर्याउनुका साथै उनीहरूको सामाजिक तथा आर्थिक अवस्थासमेत सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।