भदौ २५, काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका टोलीसँग आवश्यक सामग्रीको समेत अभाव रहेको नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले बताएकी छन्।
बिहीबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै सांसद अवालले उद्धारकर्मीहरूले अक्सिजनको मात्रा नाप्ने उपकरण, टर्च र डोरीसमेत पर्याप्त नभएको जानकारी आफूलाई दिएको बताइन्।
उनका अनुसार रसुवाको टिमुरेमा उद्धारमा खटिएका भक्तपुरका अरुण सैंजुले आफूलाई उद्धार सामग्रीको अभावबारे जानकारी गराएका थिए। उद्धारका क्रममा प्रयोग हुने केही डोरी चुँडिएको र रातिको समयमा काम गर्न आवश्यक टर्चसमेत नभएको जानकारी आएको उनले संसद्मा बताइन्।
सांसद अवालका अनुसार सैंजु भदौ १० गतेदेखि सुरक्षाकर्मीसँगै रसुवा पुगेर बाढी प्रभावितको उद्धारमा खटिएका छन्। उनले उद्धारकर्मीलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी छन्।
यसैबीच, रसुवाको भोटेकोशी बाढीमा भक्तपुरका २५ जना अझै सम्पर्कविहीन रहेको र एक जनाको मृत्यु भएको जानकारी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको पनि सांसद अवालले बताइन्।
उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षाकर्मी तथा उद्धार टोलीलाई आवश्यक उपकरण तत्काल उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएकी छन्।