भदौ २५, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि एक महिलाले सडकको फुटपाथमै बच्चा जन्माएको घटना संसद्मा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले बिहीबार संसद्मा यो घटना उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद कर्णका अनुसार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि उपचारका लागि अस्पताल पुगेकी थिइन्। तर आफूसँग पर्याप्त पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि उनले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको कर्णले बताए।
बबिता हरेराम पासवानकी श्रीमती हुन्। सांसद कर्णका अनुसार बबितासँग त्यसबेला २ हजार ५ सय रुपैयाँ मात्र थियो। अस्पतालले आवश्यक स्वास्थ्य जाँचका लागि थप रकम मागेपछि उनलाई भर्ना गर्न नमानेको उनको भनाइ छ।
सांसद कर्णले विपन्न तथा गरिब नागरिकले उपचारका लागि अस्पताल पुग्दा पैसाकै कारण सेवा पाउन नसक्नु गम्भीर विषय भएको बताए।
उनले घटनाबारे सरकारसँग जवाफसमेत मागेका छन्। सरकारी अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको माग छ।
यस घटनाले गरिब तथा विपन्न महिलाको स्वास्थ्य सेवामा पहुँच र सरकारी अस्पतालमा उपलब्ध प्रसूति सेवाको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।