भदौ २५, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विपत्तिका कारण अत्यावश्यक वस्तुको अभाव र महँगी बढ्न सक्ने भन्दै नागरिकलाई त्यसबाट जोगाउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद अधिकारीले सम्बन्धित मन्त्रालयबीच तत्काल समन्वय गरी राजमार्ग र सीमा नाकाहरू छिटो सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, “राजमार्ग र नाका युद्धस्तरमा खुलाइयोस् र आपूर्ति सहज बनाइयोस्। जनता विपत्तिमा छन्, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाइयोस्।”
बाढी–पहिरोका कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएको तथा बीपी र पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको उनले बताइन्। यसले चाडपर्वको समयमा खाद्यान्न, इन्धनलगायत दैनिक उपभोगका सामानको मूल्य बढ्न सक्ने उनको भनाइ छ।
सरकारले समयमै आवश्यक कदम नचाले कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको सबैभन्दा ठूलो असर गरिब तथा विपन्न नागरिकलाई पर्ने सांसद अधिकारीले बताइन्।
उनका अनुसार वैकल्पिक नाका कोरला हुँदै सामान ढुवानी गर्दा सडकको अवस्था र लामो दूरीका कारण खर्च निकै बढेको छ। त्यसतर्फको ढुवानी लागत अन्य मार्गको तुलनामा पाँच गुणाभन्दा बढी महँगो पर्ने अवस्था रहेको उनले बताइन्।
बाढी–पहिरोबाट प्रभावित सडक र नाका तत्काल सञ्चालनमा ल्याई बजारमा अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा सांसद अधिकारीले जोड दिइन्।