web image
भदौ २४, काठमाडौं । भारतको महिला तथा बाल विकास मन्त्रालयले महिलाहरू, बालबालिका र किशोरकिशोरीको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले ‘राष्ट्रिय पोषण महिना २०२६’ अभियान सुरु गरेको छ। मन्त्रालयले बुधबार वाराणसीस्थित रुद्राक्ष अन्तर्राष्ट्रिय सहयोग तथा सम्मेलन केन्द्रबाट अभियानको नवौँ संस्करण शुभारम्भ गरेको हो।
महिला तथा बाल विकासमन्त्री अन्नपूर्णा देवीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतको उपस्थितिमा अभियान उद्घाटन गरेकी हुन्। यस वर्षको अभियानको मुख्य नारा ‘हमारी आंगनवाडी, हमारी जिम्मेदारी’ रहेको छ। अभियानले आंगनवाडी केन्द्रप्रति समुदायको स्वामित्व र जवाफदेहिता बढाउने विषयलाई प्राथमिकता दिएको छ।
अभियानअन्तर्गत पोषणयुक्त तथा विविध आहार, पर्याप्त प्रोटिन, आंगनवाडी केन्द्रमा ताजा पकाइएको खाना, पोषण तथा प्रारम्भिक बाल विकास र समुदायको सहभागितालाई प्रमुख प्राथमिकतामा राखिएको छ। आंगनवाडी केन्द्रहरूमा स्वस्थ परिकार बनाउने प्रदर्शन, पोषण मेला तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
यसैगरी, तीन वर्षसम्मका बालबालिकाको विकासका चरण अभिलेख गर्ने विशेष अभियान सञ्चालन गरिनेछ। तीनदेखि छ वर्षसम्मका बालबालिकामा प्रारम्भिक सिकाइ प्रवर्द्धन गर्ने गतिविधि पनि सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
अभियानले प्रधानमन्त्री मातृ वन्दना योजना सुरु भएको १० वर्ष पूरा भएको अवसरमा गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई योजनामा आबद्ध गराउने र उनीहरूले पाउने सुविधा शीघ्र उपलब्ध गराउने अभियानसमेत सञ्चालन गर्नेछ।
Share this with your friends: