असोज १२, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चारवटा विधेयक प्रतिनिधिसभामा पेस गर्ने भएकी छन्। संघीय संसद्को आजको बैठकमा यी विधेयक पेस गर्ने कार्यसूची रहेको छ।
मन्त्री मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ९बिक्री वितरण नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८३ प्रतिनिधिसभामा पेस गर्नेछिन्। त्यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ९पहिलो संशोधन० विधेयक, २०८३ पनि बैठकमा पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ पनि मन्त्री मेहताले नै प्रस्तुत गर्ने तय भएको छ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ। सोही बैठकमा कानुन, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासँग सम्बन्धित अन्य विधेयकसमेत पेस हुने संसद् सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ।
चार स्वास्थ्यसम्बन्धी विधेयक अघि बढेसँगै सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र स्वास्थ्य विज्ञान शिक्षासँग सम्बन्धित कानुनी व्यवस्थामाथि संसद्मा छलफलको प्रक्रिया अघि बढ्नेछ।