web image
असोज १२, काठमाडौं । काठमाडौंमा आयोजित ग्रान्ड फिनालेबाट प्रायश्ना गुरुङ ‘मिस युनिभर्स नेपाल २०२६’ र विनिता ओली ‘मिस अर्थ नेपाल २०२६’ घोषित भएका छन्। दुवै प्रतियोगिताको फिनाले आइतबार साँझ आयोजना गरिएको थियो।
देशभरबाट छनोट भएका १४ जना अन्तिम प्रतिस्पर्धीले दुई उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। फिनालेमा बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली मुख्य निर्णायकको भूमिकामा थिइन् भने मोडल मनिका विश्वकर्मा पनि निर्णायकमा सहभागी थिइन्।
२४ वर्षीया प्रायश्ना गुरुङ बेलायतमा बस्दै आएकी नेपाली हुन्। उनी महिला सशक्तीकरणसम्बन्धी अभियानमा पनि सक्रिय छिन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलालाई मेकअप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता तथा उद्यमशीलताजस्ता सीपसम्बन्धी निःशुल्क अनलाइन कार्यशाला सञ्चालन गर्दै आएकी छन्।
त्यस्तै, २७ वर्षीया विनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’को उपाधि जितेकी छन्। झापाकी ओलीले केही वर्ष कुवेत एयरवेजमा अन्तर्राष्ट्रिय क्याबिन क्रुका रूपमा काम गरेकी थिइन्। हाल उनी मनोविज्ञान अध्ययन गरिरहेकी छन् र थेरापिस्ट तथा सामाजिक अभियन्ता बन्ने लक्ष्य राखेकी छन्।
प्रतियोगिताबाट संगीता पुरी ‘युनिभर्सल वुमन नेपाल’ घोषित भएकी छन्।
उपाधि जितेसँगै प्रायश्नाले पुएर्तो रिकोमा आयोजना हुने मिस युनिभर्समा तथा विनिताले फिलिपिन्सको मनिलामा हुने मिस अर्थ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
Share this with your friends: