भदौ १६, काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ ।
मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । घिमिरेको मृत्युको विषयमा औपचारिक रुपमा नर्भिक अस्पतालले जानकारी गराउने तयारी गरिरहेको स्रोतले बताएको छ ।
नर्भिक अस्पताल र सो अस्पतालका प्रबन्ध संचालक मेघा चौधरीले २०७८ जेठ २७ गते मोडल घिमिरेको उद्धार गरेका थिए । जिउँदो लाशजस्तो भएर घरमै उपचारविहीन अवस्थामा रहेकी घिमिरेको उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।
उपचार सुरु गरिएको करिब ३ महिनापछि घिमिरेको मृत्यु भएको हो ।
अस्पतालले हिजो मात्र घिमिरेको स्वास्थ्य अवस्था तीन महिनाको उपचारपछि पनि स्थिर नै रहेको बताएको थियो । सो पत्रकार सम्मेलनमा घिमिरेको अवस्था बिग्रिदै गएको संकेत गरिएको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित निशाका पिता प्रेम घिमिरे समेत निराश अवस्थामा देखिन्थे । उनले अस्पतालले सबै प्रयास गरे पनि आफ्नी छोरीको स्वास्थ्य अवस्थामा सुधार नआएको भन्दै निराशा व्यक्त गरेका थिए ।
निशालाई लामो समयसम्म अक्सिजनको सपोर्टमा राखिएको थियो । अस्पतालस्थित उच्च स्रोतका अनुसार आज बिहानबाट निशाको अवस्था एक्कासी गम्भीर बन्न पुगेको थियो । पिसाब रोकिएसँगै उनको मुटु र मृगौलाले पनि काम गर्न छाडेका थिए ।
निशाका पिता प्रेम घिमिरेले अस्पतालका नर्सहरुले आफूलाई छोरीको अवस्था क्रिटिकल भयो भनेर फोन गरेका र आफू परिवारसहित अस्पताल जाँदै गरेको प्रतिक्रिया दिए । परिवारजन पुगेपछि मात्र अस्पतालले निशाको निधनको औपचारिक घोषणा गर्ने तयारी थालेको त्यहाँ कार्यरत एक सुरक्षागार्डले जानकारी दिएका छन् ।