असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले देशका विभिन्न क्षेत्रमा देखिएको बाढी, पहिरो तथा डुबानबाट भएको क्षतिको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्यालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताइन्। उनले प्रभावित परिवारका लागि खाद्यान्न, सुरक्षित आवास, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्।
उनले बाढीपहिरोका कारण क्षति पुगेका सडक, पुल, विद्युत् तथा सञ्चार संरचनाको पुनर्निर्माण तत्काल अघि बढाउनुपर्नेमा जोड दिइन्। जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा व्यवस्थापन गर्न राष्ट्रियस्तरको पुनर्स्थापना तथा बस्ती व्यवस्थापन गुरुयोजना आवश्यक रहेको उनको भनाइ छ।
विपद्सँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन निर्माणलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने अर्यालले बताइन्। विशेषगरी विपद्को पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग जोडिएका कानुनी अवरोध हटाएर जोखिम न्यूनीकरणका काम प्रभावकारी बनाउनुपर्ने उनले उल्लेख गरिन्।
सांसद अर्यालका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा बाढी, पहिरो, हिमपहिरो तथा डुबानका कारण ठूलो क्षति भएको प्रारम्भिक विवरण आएको छ। विभिन्न क्षेत्रमा घर तथा भौतिक पूर्वाधारमा क्षति पुगेको र कतिपय नागरिक विस्थापित भएको उनले सदनलाई जानकारी गराइन्।
स्याङ्जाको सेतीवेणी क्षेत्रमा कालीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले स्याङ्जा र गुल्मीबीचको यातायात तत्काल सहज बनाउन वैकल्पिक मार्गको व्यवस्था गर्न माग गरिन्।
उनले कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फ जाने सुरुङमार्गलाई तत्काल प्रयोगमा ल्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। उनका अनुसार यसबाट बाढीपहिरोका कारण अवरुद्ध भएको यातायातलाई केही हदसम्म सहज बनाउन सकिनेछ।
सांसद अर्यालले विपद् व्यवस्थापनलाई तत्कालीन राहतमा मात्र सीमित नराखी जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापन, पूर्वाधारको पुनर्निर्माण र भविष्यका विपद् न्यूनीकरणलाई समेत समेटेर अघि बढाउनुपर्नेमा जोड दिइन्।