असोज १२, काठमाडौं । कालिकोटमा बालविवाह रोक्न विभिन्न अभियान सञ्चालन भइरहे पनि समुदायभित्र लुकेर हुने विवाहका कारण समस्या झन् चुनौतीपूर्ण बन्दै गएको छ। कानुनले बालविवाहलाई अपराधका रूपमा परिभाषित गरे पनि व्यवहारमा यसको प्रभावकारी नियन्त्रण हुन नसकेको अभियानकर्मीहरूले बताएका छन्।
अभियानकर्मीका अनुसार सार्वजनिक रूपमा प्राप्त तथ्यांकमा बालविवाह घटेको देखिए पनि ग्रामीण क्षेत्रमा १४ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीको विवाह हुने क्रम अझै रहेको छ। कतिपय परिवारले अभियानकर्मीले विवाह रोकिदिने डरले विवाहलाई गोप्य राख्ने गरेका छन्।
कतिपय अवस्थामा किशोर–किशोरीलाई परिवारकै सहमतिमा भारत वा अन्य स्थानमा पठाउने र एक–दुई वर्षपछि बच्चासहित घर फर्काउने गरिएको अभियानकर्मीहरूको भनाइ छ। यस्तो अवस्थामा बालविवाह भएको प्रमाण जुटाएर आवश्यक हस्तक्षेप गर्नसमेत कठिन हुने उनीहरूले बताएका छन्।
बालविवाह न्यूनीकरणका लागि कालिकोटमा गैरसरकारी संस्थाहरूले गाउँस्तरीय सचेतना कार्यक्रम, प्रहरी तालिम, संयुक्त अभियान, सडक नाटक तथा भिडियो सामग्रीमार्फत अभियान सञ्चालन गर्दै आएका छन्। विगतमा बाल सञ्जाल तथा क्लबमार्फत विवाहको सूचना सहजै प्राप्त हुने गरे पनि पछिल्लो समय यस्ता सूचना बाहिर आउन कम भएको अभियानकर्मीहरूको भनाइ छ।
स्थानीय तहले बालविवाह नियन्त्रणमा मुख्य जिम्मेवारी लिनुपर्ने भए पनि कतिपय अवस्थामा गैरसरकारी संस्थाको अभियानमा बढी निर्भर हुने गरेको आरोपसमेत उठेको छ। जिल्ला समन्वय समितिले भने स्थानीय तहलाई प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै आएको जनाएको छ।
जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीले बालविवाह रोकथामका लागि अझ प्रभावकारी प्रयास आवश्यक रहेको स्वीकार गरेका छन्। अभियानमा केही स्थानमा सुधार देखिए पनि समग्र अवस्थाबाट सन्तुष्ट हुने अवस्था नरहेको उनको भनाइ छ।
Share this with your friends: