असोज ११, काठमाडौं । अफगानिस्तानका महिला उद्यमीलाई वित्तीय तथा व्यावसायिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० र यूएन वुमनले संयुक्त पहल सुरु गरेका छन्। ‘अफगानिस्तान वुमन्स फन्ड फर रेजिलियन्ट इन्टरप्राइजेज’ नाम दिइएको यस कार्यक्रममार्फत महिलालाई व्यवसाय विस्तारका लागि वित्तीय पहुँचसँगै विभिन्न सीप र बजारसम्बन्धी सहयोग उपलब्ध गराइनेछ।
कार्यक्रमअन्तर्गत इस्लामिक वित्तीय सिद्धान्तअनुकूल तथा धितोविहीन ऋण सुविधा उपलब्ध गराइनेछ। साथै महिलालाई वित्तीय तथा डिजिटल साक्षरता, व्यवसाय योजना निर्माण, मार्गदर्शन तथा नयाँ बजारमा पहुँच बनाउन सहयोग गरिने यूएनडीपी र यूएन वुमनले जनाएको छ।
प्रारम्भिक चरणमा १७ लाख अमेरिकी डलर संयुक्त लगानी गरिनेछ। यसबाट आगामी एक वर्षमा करिब १ हजार ५०० महिला उद्यमी प्रत्यक्ष रूपमा लाभान्वित हुने र उनीहरूको व्यवसाय तथा घरपरिवारको आयमा सकारात्मक प्रभाव पर्दा थप १४ हजारभन्दा बढी मानिस अप्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।
अफगानिस्तानमा महिला उद्यमीका लागि वित्तीय पहुँच अझै सीमित रहेको यूएनडीपी र यूएन वुमनले उल्लेख गरेका छन्। त्यहाँ ७ प्रतिशतभन्दा कम महिलासँग मात्र बैंक खाता वा मोबाइल मनी सेवाको पहुँच रहेको जनाइएको छ। त्यसका कारण धेरै महिला उद्यमी व्यक्तिगत बचत, परिवार तथा साथीभाइबाट लिएको ऋण वा व्यक्तिगत सम्पत्ति बिक्री गरेर व्यवसाय सञ्चालन गर्न बाध्य रहेको समाचारमा उल्लेख छ।
अफगानिस्तानमा महिलाको उद्यमशीलता भने बढिरहेको तथ्यांक पनि सार्वजनिक गरिएको छ। हाल १० हजारभन्दा बढी अफगान महिलासँग व्यवसाय सञ्चालनको अनुमति रहेको र पाँच वर्षअघिको तुलनामा यो संख्या करिब १० गुणा भएको जनाइएको छ। अफगानिस्तान चेम्बर अफ कमर्सका अनुसार थप करिब १ लाख २० हजार महिला बिना औपचारिक अनुमति व्यापार गरिरहेका छन्।
यूएनडीपीका अफगानिस्तान प्रतिनिधि तुर्हान सालेहले महिला उद्यमीको मुख्य चुनौती व्यवसाय गर्ने इच्छाको अभाव नभई वित्त, सीप र व्यावसायिक सञ्जालमा सीमित पहुँच रहेको बताएका छन्। यूएन वुमनकी विशेष प्रतिनिधि सुसान फर्गुसनले पनि वित्तीय पहुँच विस्तारले महिला नेतृत्वका व्यवसायलाई विस्तार गर्न सहयोग पुग्ने बताएकी छन्।
कार्यक्रम विस्तारका लागि यूएनडीपी र यूएन वुमनले थप १ करोड अमेरिकी डलर जुटाउने लक्ष्य राखेका छन्। थप रकम प्राप्त भए थप १० हजार महिला उद्यमीलाई वित्तीय तथा व्यावसायिक सहयोग उपलब्ध गराउन सकिने र करिब ७० हजार मानिस अप्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।
Share this with your friends: